चितवन / चितवन मेडिकल कलेज (सि.एम.सि.) शिक्षण अस्पतालमा ६ शैयासहितको इमरजेन्सी आइसियु कक्षा सञ्चालनमा ल्याइएको छ । आकस्मिक अवस्थामा ल्याइएको गम्भिर बिरामीलाई तत्कालै परीक्षण तथा उपचार सेवा प्रदान गर्न भेन्टिलेटर सुविधासहितको इमरजेन्सी आइसियु सञ्चालनमा ल्याइएको हो । इमरजेन्सी आइसियु कक्षको एक कार्यक्रमकाबिच चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले उद्धघाटन गरेका हुन् । सेवा शुभारम्भ गर्दै सिंहले बिरामीको ज्यान जोगाउने काममा चितवन मेडिकल कलेजले ठूलो योगदान पुर्याएको जानकारी दिए ।‘गम्भिर अवस्थामा रहेका बिरामीलाई तत्कालै आवश्यक उपचार सेवा दिन भन्दै खोलिएको इमरजेन्सी आइसियुले धेरैको ज्यान जोगाउन सहयोग पुग्नेछ,’ उनले भने, ‘यस्का साथै बिरामीले तत्कालै गुणस्तरीय सेवा समेत पाउन सक्ने छन् ।’ उनले उपत्यकाबाहिरको अस्पतालले पहिलो पटक इमरजेन्सि आइसियू कक्षको सुरु गरेर बिरामीहरुलाई ठूलो राहत प्रदान गरेको बताए ।
अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राध्यापक डा. हरिसचन्द्र न्यौपानेले आकस्मिक कक्षमा नै सुविधासम्पन्न आइसियु कक्ष स्थापना गरीएको नेपालमा यो नै पहिलो भएको बताए । उनका अनुसार ६० शैयाको आकस्मिक कक्षमा एउटा भेन्टिलेटरसहितको ६ शैयाको इमरजेन्सी आइसियु बनाइएको हो ।
‘पुर्वपश्चिम राजमार्गको झण्डै मध्यभागमा रहेको अस्पतालमा आकस्मिक अवस्थाका धेरै बिरामी आउने गर्दछन्,’ उनले भने, ‘त्यस्ता बिरामीलाई छिटो भन्दा छिटो उपचार सेवा प्रदान गरेर जीवन रक्षा गर्नसकुँ भनेर नै यो सेवा शुरु गरिएको हो ।’ उनले दुर्घटना तथा अन्य गम्भिर अवस्थामा पुगेका बिरामीको गोल्डेन अवार (गम्भिर बिरामी भएको तथा दुर्घटना भएको तीन घण्टाको अवधी) भित्र नै गुणस्तरीय र उच्चस्तरको उपचार सेवा प्रदान गर्न आकस्मिक कक्षमा नै आइसियु सेवा शुरु गरेको बताए ।
अस्पतालका निर्देशक दयाराम लम्सालले बिरामीको चाप र गम्भिरतालाई ध्यानमा राखी सेवा विस्तार गरिएको बताए । उनका अनुसार सेवा विस्तारसँगै उच्चस्तरको विशेषज्ञ उपचार प्रदान गर्न अस्पतालले जनशक्तिको उचित व्यवस्था समेत गरिसकेको छ । ‘आकस्मिक कक्षमा आउने कुल बिरामीमध्ये १० प्रतिशतजति बिरामीलाई तत्कालै आइसियु चाहिने हुनसक्छ,’ उनले भने, ‘त्यही अनुसार हामीले इमरजेन्सी आइसियुको व्यवस्थापन गरेका हौँ ।’
- पाठक हेल्थ खबर - स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर (A single CLICK for a complete solution )


No comments:
Post a Comment