४ मंसिर , २०७२ ( वीरगन्ज ) - नाकाबन्दीका कारण मानवीय सङ्कट आउन नदिने भन्दै मोर्चाले औषधिलगायत अत्याआवश्यक सामग्री नरोक्ने निर्णय गरेको केही घन्टा नबित्दै वीरगन्जमा औषधि बोकेको ट्रकमा पेट्रोल बम प्रहार गरेको छ । बिरामीको उपचार गर्न पाउनु पर्ने र औषधि सेवन गर्न पाउने अधिकारी हनन गर्दै मोर्चा कार्यकर्ता आपराधिक कार्यमा लागिरहेको विज्ञहरु बताउँछन् । ट्रकमा लोड गरिएको झन्डै २० लाख रुपैयाँ बराबरको एन्टिबायोटिक औषधि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
मोर्चाको बिहीबार अपराह्न औषधि आयात र ढुवानीमा रोक नलगाउने निर्णयपछि व्यवसायीले गोदाममा थन्किएको औषधि राति लोड गरेका थिए । ‘अति आवश्यक औषधि’ लेखिएको ब्यानर समेत ट्रकको अगाडि झुन्डयाइएको थियो । राति करिब १ बजेको समयमा मोर्चाका कार्यकर्ताले ट्रकमाथि ३ वटा पेटोल बम प्रहार गरेको ट्रकका चालकले जनाएका छन् । वीरगन्ज उपमहानगरपालिका-१४ स्थित गोदाम अगाडि लोड गरेर पार्क गरिएको ना२ख ८२९२ नम्बरको ट्रकमा आगजनी गरिएको पर्सा प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
आगजनीको सूचना आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । वीरगन्ज बरुण यन्त्रको सहयोगमा आगजनी नियन्त्रणमा लिएको डिएसपी बोगटीले बताए । स्लाइन पानी मार्फत दिइने एन्टीबायोटिक औषधी जनकपुरका लागि लोड गरिएको व्यवसायीले जनाएका छन् । संविधान निर्माणको विषयमा असहमती जनाउँदै आन्दोलनरत संयुक्त मधेशी मोर्चाले औषधि बोकेको ट्रकमा आगो लगाइदिएका हुन् ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:
Post a Comment