-जय पाठक (जे.पी.)
भोलेन्टिएर र कम तलबमै काम गराउँछन् अस्पताल ...
नर्सिङ पेसा एक संवेदनशिल एवम् सम्मानित पेसा हो । नाम र दाम दुवै हुने भन्दै विद्यार्थी र अभिभावकले पढाइमा नर्सिङ रोज्ने गर्छन । लाखौं रुपैयाँ खर्चिएर मेहनदका साथ नर्सिङ पढेपनि अस्पतालहरुले भोलेन्टिएरको नाममा सित्तैमा काम गराई रहेको, जागीर गर्नेहरुलाई पनि कम तलब मै काम गराउने गरिएको भन्दै यो श्रम शोषण र त्यसबाट नर्सहरुमा परेको पीडाको विरुद्ध देशव्यापी विरोध अभियान मै शुरु गरेका छन् ।
देशभरिका निजी तथा सरकारी अस्पतालहरुले दरवन्दिमा राख्नु पर्ने नर्सहरुलाई भोलेन्टिएरको नाममा कामलगाउने गरेको, अस्पतालको शैया संख्याको आधारमा नर्सलाई जागीरको अवसर दिनु पर्नेमा भोलेन्टिएरबाट नै काम चलाउने गरेको उनीहरुको भनाई छ । अहिले भोलेन्टिएर गर्ने र गराउने एउटा संस्कार नै बसि सकेको छ । अझैं दुःखको कुरा त भोलेन्टिएर गर्न समेत सोर्सफोर्स लगाउन पर्ने अवस्था छ । नातावाद र कृपावादले कहिलेसम्म सामराज्य जमाई राख्ने हो ? के यहाँ आफ्नो मान्छे नहुनेहरु सधैं वेरोजगार नै बसिराख्नुपर्ने हो ? योग्यता र शिपको कहिले हुन्छ सम्मान ? सरकारी कोटा भन्नेंहरुमा समेत घुसपेट चल्न थालेको छ । अनि निजि क्षेत्रको हालत कस्तो होला ? आफै सोचौं । यहाँ स्वतन्त्ररुपमा स्वच्छ प्रतिस्पर्धाबाट गर्वको साथ जागीर खाने इच्छा माथि किन लात हानीदैछ ? अनि यही प्रथा कहिलेसम्म चलिरहने हो ? यस क्षेत्रमा जागीर खोज्नुको पीडात छदैछ, यहाँ जागीर खानेको पीडा पनि कम छैन । पैसा कमाउन पल्किएका निजि अस्पताल, पोलिक्लिनिक तथा विभिन्न संस्थाहरुले कम तलबमै सकेसम्म काम लदाउछन् । सबै जस्तो संस्थाको एउटै हालत भएपछि काम नगरेर पनि के गरुन विचरा हरुले ’ अनि भन्छन् ‘निल्नु न ओकाल्नुको बन्यो जागीर’ । नाफाको सवालमा निकै चासो दिने अस्पताल संचालकहरु त्यहि अस्पताल चलाउने कर्मचारीको तलब तथा सेवा सुविधाको कुरामा भने कानमा तेल हाले झैं चुपचाप बसिरहेका छन् । यो शोषण कहिलेसम्म रही रहने हो ? तीनै कर्मचारीको पसिनाबाट कमाउन पल्किएकाहरु त्यो पसिना र मेहनदको सम्मान गर्न तर्फ पनि ध्यान दिने पो होकी । नर्सहरु त् एउटा उदाहरण मात्रै हो । फार्मेसी,एचए, ल्याव, रेडियोलोजी लगायत स्वास्थ्य क्षेत्र र अन्य क्षेत्रको हालत पनि उस्तै छ ।
देशभरका नर्सहरुले श्रम शोषणको विरुद्ध ‘से नो टु फर भोलेन्टिएर’ अभियान चलाई रहेका छन् भने आफूहरुको निम्नतम् पारिश्रमिक मासिक १८ हजार रुपैयाँ हुनुपर्ने स्टाप नर्सहरुको माग छ । खुरु–खुरु नर्सिङ कलेज संचालनको लागि अनुमति दिंदै जाने तर त्यसको व्यवस्थापनमा ध्यान नदिने हो भने एकदिन नर्सहरु साँच्चिकै वेरोजगार नबन्लान् भन्न सकिंदैन त्यसकारण कलेजलाई सटिपिकेट बनाउने मिसीनमात्र नबनाइयोस् । त्यसतर्फ स्वीकृत दिने र कलेज संचालन गर्ने दुवै निकाय समयमै सचेत बन्नुपर्छ ।
पछिल्लो समय नर्सहरु श्रम शोषणमा परेको भन्ने गुनासाहरु धेरै आउन थालेको छ । सञ्चारमाध्यमहरुबाट समेत यस्ता थुप्रै खबरहरु बाहिर आउने गरेका छन् । हामीले यो साता यिनै विषयमा नर्सिङ पेशासँग केन्द्रित भएर विभिन्न व्यक्तिहरुसँग कुराकानी गरेका थियौं । प्रस्तुत छ । उहाँहरुसँग गरिएको कुराकानीको सम्पादीत केही अंश-
मनिषा कुवंर (स्टाफ नर्स)
भरतपुर अस्पताल, भ.न.पा – १०, चितवन
अस्पतालहरुमा वेडको आधारमा दरवन्दि हुनुपर्ने हो त्यो छैन । भोलेन्टिएर कै रुपमा काम गराइन्छ त्यसैबाट काम चल्ने भएपछि दरवन्दि नै खुलाइदैन । यहाँ योग्यता र शिप भन्दापनि नातावाद चल्छ । त्यसको अन्त्य हुनुपर्छ ।
गिता श्रेष्ठ (स्टाफ नर्स)
श्री पुष्पाञ्जली अस्पताल प्रा.लि.
भरतपुर –१० चितवन
नर्सिङ पढाउने कलेजहरु धेरै खुल्यो जसले गर्दा धेरै नर्सहरु उत्पादन भएका छन् तर तीनीहरुको काम गर्ने क्षेत्र सीमित भयो । त्यसकारण पनि यी समस्याहरु देखा परिरहेको छ जस्तो लाग्छ । नर्शहरुले तीन वर्षसम्म अध्ययन गर्दा थुप्रै हस्पिटलहरुमा पोस्टिङ भएर काम सिकिसकेका हुन्छन तै पनि लाइसेन्स लिएर काम गर्न गयो फेरि भोलेन्टिएर जति मनलाग्यो त्यति समय गर्न लगाउँछन् । कतिलाई त भोलेन्टिएर गरायो – गरायो त्यहाँ जागीरको अवसर नै दिइदैन । अर्को ठाउँमा गयो । त्यहाँ फेरी भोलेन्टिएर नै गर्न लगाइन्छ आठ–नौं महिना देखि एक–दुई वर्षसम्म भोलेन्टिएर गर्नु पर्ने अवस्था समेत कतिलाई छ । कर्मचारीले सरह काम ग¥यो तर खाजा खर्चसम्म पनि दिंदैनन् । यो कहाँसम्मको श्रम शोषण हो । यसको अन्त्य हुनुपर्छ ।
बल्ल–बल्ल जागीर पायो रातदिन, चाडपर्व, आफ्नो –आफन्त नभनी काममा खट्नुपर्छ तर त्यस अनुरुपको तलब हुँदैन । नर्सहरुले कत्तिसम्म पीडा सहने ?
शिण्टता ढुङ्गाना (विएसी नर्सिङ अध्ययनरत )
कलेज अफ मेडिकल साइसेन्स् (सिएमएस्)
भरतपुर – १० चितवन
हामीले पढ्दा खेरीनै धेरै काम सिकी सकेका हुन्छौ फेरी पास भएपछि पनि भोलेन्टिएर गर्न लगाइन्छ । भोलेन्टिएर गरेर पनि जब (जागीर) को व्यवस्था हुँदैन । कत्रो लगानी र मेहनत गरेर पढ्यो त्यसको कदर नै छैन । भोलेन्टिएर भन्ने कुराको अन्त्य हुनुपर्छ । प्रत्येक अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा विएसी नर्सिङहरुको छुट्टै कोटा निर्धारण गरिनुपर्छ । अनि लोकसेवा आयोगबाट पनि विएसी नर्सिङको छुट्टै कोटा खोली सरकारी जागीरको पनि सुनिश्चित हुनुपर्छ । योग्यता अनुसारको पारिश्रमिक दिनुपर्छ ।
कृण्टिना प्रधान (वि.एन. अध्ययनरत )
चितवन मेडिकल कलेज (सिएमसी)
भरतपुर – १० चितवन
नर्सिङ कलेजहरु धेरै खुलेका छन् तर गुणस्तरमा खासै ख्याल गरेको देखिदैन । गुणस्तरीय उत्पादनमा विशेष ध्यान दिनुप¥यो, मापदण्ड पूरा नभएका कलेजहरुलाई संचालन अनुमति दिनुभएन, योग्यता अनुसारको तलब निर्धारण हुनुपर्छ , नर्सहरुलाई मोटीभेसन हुनेखालका कार्यक्रमहरु संचालन गर्नुपर्छ । अनि भोलेन्टिएर भन्ने कुरा हटाउनुपर्छ ।
सन्तोष खनाल (वि.फार्मेसी अध्ययनरत )
चितवन मेडिकल कलेज (सिएमसी)
भरतपुर – १० चितवन
यो नर्सिङ क्षेत्रको मात्र होइन् सम्पुर्ण स्वास्थ्य कर्मचारीहरुको साझा समस्या हो । ठूलो लगानी र मेहनद गरेर अध्ययन ग¥यो जागीर खानको लागि फेरी ठूलो कसरत गर्नुपर्छ जागीर पाईहाल्यो भने पनि तलब हुँदैन त्यसको लागि श्रमजिवी ऐन लागू हुनुप¥यो । यहाँ पसिनाको कुनै मूल्य छैन । त्यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।
रविना भुर्तेल ( स्टाफ नर्स )
नेशनल सिटी हस्पिटल, भरतपुर – १० चौविसकोठी , चितवन
नर्सहरुलाई लामो समयसम्म भोलेन्टिएर गर्न लगाउने चलन छ । त्यसको अन्त्य हुनुपर्छ । जागीर खाएपछि पनि कम तलबमा कामगर्न लगाइन्छ । खटेर काम गर्नुपर्छ , तलब भने हुँदैन । यो त सिधैं श्रमशोषण भएन र ? प्रत्येक स्वास्थ्य संस्थामा तलब स्केल तोकि त्यही अनुसार लागू हुनुपर्छ ।
- चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका बाट साभार
- चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका बाट साभार

No comments:
Post a Comment