Pages

▼

Wednesday, February 15, 2017

सिटी हस्पिटलमा निःशुल्क स्वास्थ्य परीक्षण एवम् परामर्श कार्यक्रम सम्पन्न

 -जय पाठक (जे.पी.) 

    २०७३ फाल्गुन ०५  ( बिहीवार ) चितवन / नेशनल सिटी हस्पिटल, भरतपुर–१०, चितवनमा महिलाहरुको एक दिने निःशुल्क स्वास्थ्य परीक्षण एवम् परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

    लायन्स क्लब अफ नारायणगढ, नारायणी र नारी अभ्युदय केन्द्र, नारायणगढ, चितवनको संयुक्त आयोजनामा बुधबार सो कार्यक्रम भएको हो । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. निर्मला लक्ष्मी श्रेष्ठले बिरामीहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै महिला सम्बन्धी रोग र त्यसबाट बच्ने उपायबारे आवश्यक परामर्श दिनुभएको थियो । 

    जम्मा ५७ जना महिलाहरुको स्वास्थ्य परीक्षण गरिएकोमा दुई जनाको क्यान्सरको स्क्रिनिङ टेस्ट पोजेटिभ देखिएकाले उनीहरुमा क्यान्सरको सङ्का रहने भन्दै थप परीक्षण एवम् नियमित स्वास्थ्य जाँचको लागि सल्लाह दिइएको डा. श्रेष्ठले जानकारी दिनु भयो । त्यस बाहेक केहीको पाठेघरमा मासु पलाएको तथा सङ्क्रमण भए पनि अधिकांशको स्वास्थ्य सामान्य रहेको छ । स्वास्थ्य समस्या देखिएका बिरामीहरुको आवश्यक उपचार गरी घर पठाइएको उहाँले बताउनु भयो ।


    महिलाहरुमा कुनै पनि स्वास्थ्य समस्या देखा परेमा तुरुन्त स्वास्थ्य परीक्षण एवम् उपचार गराउन तथा कुनै पनि स्वास्थ्य समस्या नदेखिए पनि समय–समयमा सबै महिलाहरुलाई आफ्नो नियमित स्वास्थ्य परीक्षण गर्न डा. श्रेष्ठले सल्लाह दिनु भयो । 

नेशनल सिटी हस्पिटलमा बुधबार भयको निःशुल्क स्वास्थ्य परीक्षण एवम् परामर्श कार्यक्रमको फोटो फिचर  :

                                                         फोटो :पाठक हेल्थ खबर

      महिलाहरु शिक्षित हुँदाहुँदै पनि अझै आफ्नो रोग खुलेर भन्न नसक्दा पछि गएर जटिल अवस्था आउन सक्ने हुन्छ । त्यस्ता जटिलता नआओस् भनेर विभिन्न सङ्घ–संस्थाहरुको सहकार्यमा महिलाहरुलाई लक्षित गरेर सो निःशुल्क स्वास्थ्य परीक्षण एवम् परामर्श कार्यक्रम आयोजना गरिएको आयोजक समेत रहेका लायन्स क्लब अफ नारायणगढ, नारायणीकी अध्यक्ष रजनी मास्केले जानकारी दिनु भयो ।


     “महिलाहरुमा स्वास्थ्य परीक्षण गराउनु पर्छ भन्ने ज्ञान भएपनि त्यस्को व्यवहारिक रुपमा लागु भएको छैन । महिलाहरुले उपचारमा ढिलासुस्ती गर्दा एक्कासी जटिल अवस्था आएपछि उपचारको लागि अस्पताल आउने परिपाटीले उपचार महङ्गो हुनुका साथै कतिपय अवस्थामा उपचार गर्न समेत गाह्रो हुने गर्दछ । महिलाहरुमा रोग लुकाएर नबस्न तथा आफ्नो स्वास्थ्यको समय–समयमा परीक्षण गराइ राख्नु पर्छ भन्ने समाजमा साङ्केतिक सन्देश दिने उद्देश्यले सो कार्यक्रमको प्रायोजन गरी अस्पताल परिसरमै सञ्चालन गरिएको हो” अस्पतालका प्रबन्ध निर्देशक बिक्रम अधिकारीले भन्नु भयो ।

     “स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका, आर्थिक रुपमा विपन्न जनताहरुलाई समेटेर ‘टोल–टोलमा सिटी हस्पिटल’ नाराका साथ ठाउँ–ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौं ।” उहाँले भन्नु भयो, “यही फागुन ७ गते माडीको कल्याणपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछौं । त्यहाँको स्थानीयवासीलाई सो शिविरमा सहभागी भई आफ्नो स्वास्थ्य परीक्षण गर्न आग्रह गर्दछु । यसलाई हामीले अस्पतालको सामाजिक उत्तरदायित्वको रुपमा लिएका छौं ।”
 
    यसअघी नारायणगढमा रहेको यस नेशनल सिटी हस्पिटलले विगत डेढ वर्षयता चौबीसकोठीस्थित सुविधासम्पन्न भवनबाट विशेष व्यवस्थापनका साथ आफ्नो नियमित सेवा सञ्चालन गर्दै आएको छ ।

  •  पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )


No comments:

Post a Comment