जय पाठक (जे.पि.)
चितवन / नेशनल सिटी हस्पिटलले हस्पिटल रोड, चौविसकोठी, चितवनमा पिसाब सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । अस्पताल परिसर चौविसकोठीमा सम्पन्न सो स्वास्थ्य शिविरमा २५ महिला सहित ११६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।
‘स्वास्थ्य समाजको निर्माणको निम्ति हाम्रो अभियान’ भन्ने मूल मन्त्रका साथ सो शिविर सञ्चालन गरेको बताउँदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई अझै परिमार्जित र परिस्कृत गर्दै सञ्चालन गरिने योजना रहेको अस्पतालका प्रबन्ध निर्देशक बिक्रम अधिकारीले बताउनु भयो । थप सुविधाका साथ अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको समेत उहाँले जानकारी दिनु भयो ।
अस्पतालको अध्यक्ष समेत रहनु भएको युरोलोजिस्ट डा. निर्मल लामिछानेले स्वास्थ्य परीक्षण गर्नु भएको सो निःशुल्क स्वास्थ्य शिविरमा ४० वर्ष माथिका पुरुषहरुमा पिसाब राम्रोसँग नबग्ने र महिलाहरुमा पिसाब नलीको संक्रमणको समस्या बढी देखा परेको बताउनु भयो । विना लक्षण स्वास्थ्य परीक्षण गर्न आएका व्यक्तिहरुमा परीक्षण पछि मिर्गौलामा खराबी देखा परेको बताउँदै कुनै पनि लक्षण देखिएन भनेर यत्तिकै ढुक्क भएर नबस्न तथा समय–समयमा आफ्नो स्वास्थ्य परीक्षण गर्नुहुन डा. लामिछानेको सुझाव छ । साथै कुनै स्वास्थ्य समस्या देखा परेमा त्यसलाई लुकाएर नराखी समयमै उपचार गर्न समेत उहाँले सबैमा अनुरोध गर्नु भयो ।
स्वास्थ्य परीक्षण, युरिन क्र्याटिनिन् र युरिनफ्लोको निःशुल्क जाँच गरिएको सो शिविरमा अस्पतालबाट दिइने सम्पूर्ण सेवाहरुमा २५ प्रतिशत छुट गरिएको थियो ।
नेशनल सिटी हस्पिटलले यस अघि विशालमार्ग–४, नारायणगढबाट लामो समयदेखि आफ्नो सेवा दिँदै आएको थियो ।
-पाठक हेल्थ खबर

No comments:
Post a Comment